1 year ago
नेपाल जस्ता विकासोन्मुख मुलुकहरुमा भूकम्पीय विनाशको मूल कारण नै घर भत्कनु हो । घरहरुको निर्माणका बेला दक्ष इन्जिनियरको ज्ञानको प्रयोग भएको हुँदैन जसले गर्दा ती संरचनामा भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग भएको हुँदैन। फलस्वरूप: भुइँचालो आउँदा धनजनको ठूलो नोक्सानी हुने गर्दछ । यस्ता घरहरुमा भूकम्पीय सुदृढिकरण गरिए भूकम्पका बेलामा हुन सक्ने क्षतिलाई कम गर्न सकिन्छ । l
पिलरवाला घरको भूकम्पीय सुदृढिकरणका लागि विभिन्न उपायहरु छन् जस्तै बेस आइसोलेसन, हाइड्रोलिक ड्याम्पर्स को प्रयोग आदि तर नेपालजस्तो देशका लागि खर्च र उपयुक्तताको दृष्टिकोणले निम्न उपायहरु प्रयोग गर्न सकिन्छ।
गारोको भित्रबाहिर दुवैतिरबाट ठाडो तेर्सो डण्डीको जालो लगएर प्लास्टर गर्न सकिन्छ वा मसिनो कंक्रिट थप्न सकिन्छ । यी दुवै पट्टीको जालोलाई भित्ता छेडेर ठाउँ-ठाउँमा डन्डीले बाँध्नुपर्छ । यो तरिका ३ तल्ला सम्मको भवनहरु का लागि उपयुक्त हुन्छ । यसरी ज्याकेटिङ गरेको गारो र अन्य गारोलाई फ्रेम संग बाँध्नु अति जरुरी हुन्छ ।
घरको चारैतिरबाट RCC गारो मिलाएर थप्न सकिन्छ। यस्ता ढलान गरिएका गारो दुवै दिशामा राख्नुपर्छ । यस्ता गारो कुन ठाउँमा, कति मोटो ढलान र कति डण्डी राख्ने भन्ने कुरा प्राविधिकको सल्लाह अनुसार निर्धारण गर्नुपर्छ ।
यसरी बनाएको गारो जगदेखि नै उठ्नुपर्छ र फ्रेमसंग राम्ररी बाँधिएको हुनुपर्छ । हाम्रो घरहरुमा सामान्यतया लचकपना कम भएको हुनाले यो तरिका बढी उपयुक्त हुन्छ ।
पिलरवाला घरमा इँटा, ढुंगा वा ब्लकको गारो लगाएको हुन्छ। पिलरहरु जस्तै यस्ता गारोहरु पनि समान रुपमा चारैतिर लगाएको हुनुपर्छ । यदि यस्तो छैन भने भएको गारो हटाएर, चाहिने ठाउँमा गारो थपेर घरको भूकम्प थेग्ने क्षमता बढाउन सकिन्छ। घरको सबै गारोलाई फ्रेमसँग बाँध्न भने बिर्सिनु हुन्न ।
Source: Retrofitting of Common Frame Structural (Pillar System) Houses, A Handbook by National Society for Earthquake Technology – Nepal (NSET)